‘अभिभावक डिप्रेशनमा जाँदा बालबालिकाको हत्या’

‘अभिभावक डिप्रेशनमा जाँदा बालबालिकाको हत्या’



घटना– (क)
सितापाइलामा छोरी, नातिनी र श्रीमतीको हत्यापछि आत्महत्या

फागुन ९ गते काठमाडौंको सितापाइलामा दुई जना नाबालिकासहित श्रीमतीको हत्या गरेर श्रीमान्ले आत्महत्या गरे । ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवानीको हत्या राजु घिमिरे भनिने काजी विकले गरेको अनुमान प्रहरीको छ । प्रहरीले दिएको जानकारीअनुसार काजीले श्रीमति ईश्वरी श्रेष्ठको पनि हत्या गरेका हुन् । तीन जनाको हत्या गरेर काजीले नागार्जुनको जंगलमा गएर झुण्डिएर प्राण त्यागे ।

हत्यापछि आत्माहत्या भएको यस घटनामा काजी र श्रीमती ईश्वरीबीच आपसी बेमेल रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर छोरी र नातिनी दुई नाबालिकाको पनि हत्या भएको छ ।

घटना–(ख)
झापामा छोरी बोकेर आत्मदाह

फागन ४ गते झापामा आमाले आत्मदाह प्रयास गर्दा आमा र नाबालिक छोरी दुबैको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह प्रयास गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो ।

घटना– (ग)
धनकुटामा छोरा र श्रीमतीको हत्यापछि आत्महत्या

मंसिर ७ गते धनकुटा नगरपालिका–१ निगालेमा ३५ वर्षीय टीका गुरुङले ३६ वर्षीया श्रीमति भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेका थिए ।

गुरुङ दम्पती ज्यालामजदुरी गर्दै जीवन गुजारा गर्थे । गुरुङले मादक पदार्थ सेवन गरी सुरुमा उनकी श्रीमती भीमा र छोरा आयुषको हत्या गरेको खुल्न आएको थियो ।
घटनाको प्रत्यक्षदर्शी छोरी आशिका भने भागेर बाँच्न सफल भएकी थिइन् ।

घटना–(घ)
पुरानो बानेश्वरमा छोरीको हत्यापछि आत्महत्या

२०७९ माघ २१ शनिबारको दिन काठमाडौंको पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या गरेर एक बाबुले आत्महत्या गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार ३५ वर्षीय किशोर भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेका हुन् । उनले अपांगता भएकी नाबालिक छोरीको घाँटी रेटी हत्या गरेरे आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

००००००००००००००००००००००

माथिका यी प्रतिनिधि घटना हुन् । पछिल्लो समय दर्दनाक र असम्भब जस्तो लाग्ने हत्या गरेर आत्माहत्या रोज्ने क्रुरुर घटना समाजमा दिनप्रति दिन घटिरहेको छ । यस्ता घटनामा बालबालिकाले सबैभन्दा सुरक्षित ठान्ने गरेको अभिभावकको काखबाटै असामयिक जीवन गुमाउनु परेको छ ।

बालबालिकाको अभिभावक, परिवार र आफन्तबाटै हत्या भएको छ । छोराछोरीको सुरक्षा अभिभावकको पहिलो दायित्व हुन्छ । तर श्रीमान श्रीमतिबीचको आपसी बेमेल र मनमुटाव चर्किदा त्यसको शिकार बालबालिका भएका छन् । यी हत्यामा मात्र सीमित छैनन् परिवार नै सखाप भएको छ । केही वर्षयता सामाजिक रुपमा यस्ता निकै डरलाग्दा घटना र दृष्यहरु निरन्तर बढिरहेका छन् ।

आफू त म-र्योमर्यो सन्तान किन मारियो ? समाजमा यो प्रश्न उठेको छ । केही घटनाहरु अभिभावकले आफूसँग आश्रित सन्तानले भविष्यमा आश्रय पाउँदैन भन्ने मनसायले हत्या गरेर आत्माहत्या गरेको देखिन्छ । कतिपय घटनाहरु पारिवारिक रिसइबीका कारण घटेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

००००००००००००००००००

८५ प्रतिशत हत्या र आत्माहत्याको कारण डिप्रेशनः मनोचिकित्सक अधिकारी

समाजमा यस्ता घटना मुलतः मानसिक रोग डिप्रेशन (मनोरोग) को कारणले घटिरहेको मानसिक अस्पताल लगनखेलका निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारी बताउँछन् । उनले भने, ‘समाजमा घटिरहेको हत्यापछि आत्माहत्याको घटना हुनुमा केही समाजिक तत्वहरुले पनि काम गरिरहेको हुन्छ भने ८५ प्रतिशत डिप्रेशनको कारणले हुन्छ ।’

डा. अधिकारीका अनुसार अहिलेको परिवेशमा कडा खालको डिप्रेशनको शिकार भएर आफु नरहँदा आफ्ना बालबच्चाको बिजोग हुन्छ भन्ने मानसिक्ताले बालबच्चाको हत्या गरेर आत्माहत्या गरेको देखिन्छ । ‘आफ्नो प्रियजन, परिवार आफूप्रति बफादार नदेखेर यिनीहरुलाई पनि सिध्याउँछु र आफू पनि सिद्धिन्छु भन्ने मनसायले यस्तो दुस्साहस गरेको देखिन्छ’ डा. अधिकारीले भने ।

‘मानिस जन्मेपछि सम्पूर्ण रुपले आफूलाई बचाउनमा केन्द्रित हुन्छ । मान्छेले हरेक हिसाबले आफूलाई कमजोर पाएपछि आत्महत्या रोज्छ । आफू रहेको समाज, वातावरणलगायत सबै चिजलाई निकम्मा देखेपछि मान्छेमा आत्महत्याको सोच आउँछ’ डा. अधिकारीले भने, ‘मेरेपछि आफूमा आश्रित बालबालिकाको भविष्यमा बिचल्ली हुन्छ भन्ने सोचले अरुलाई समाप्त गरेका हुन् ।’

डा. अधिकारीले भने, ‘साइकोसिस मनोरोगले विभिन्न किसिमका भ्रमहरु उत्पन्न गर्छ । यो रोगले आफ्नो प्रिय मान्छे पनि आफूसँग बफादार छैन, आफ्नै विरुद्धमा चालबाजी गरेको छ की जस्तो भ्रमहरु उत्पन्न हुन्छ । त्यस अवस्थामा मान्छेले आफ्नो प्रिय मान्छेको हत्या गरेर आत्माहत्य गर्ने गर्छ । यस्तो सोच लागुपदार्थ सेवन गर्नेहरुमा धेरै आएको देखिन्छ ।’

००००००००००
रोकथामको उपाय

यस्तो घटना घट्न नदिन समाजमा मानसिक रोग र यसका लक्षणबारे खुलेर छलफल गर्न जरुरी रहेको मनोचिकित्सक अधिकारी बताउँछन् । उनले भने, ‘शारीरिक रोग लागेको छ भने मानिसले सहजै भन्न सक्छ, तर मानसिक रोगले ग्रसित भइयो भने कसैले पनि खुलेर भन्दैन । त्यसले भित्रभित्रै भुसको आगोझै मान्छेलाई गलाइसक्छ, सिध्याइसक्छ र आत्महत्यातिर उद्धत गरिसक्या हुन्छ । त्यो बेलासम्म पनि मानिसले रोग लुकाउँछ । त्यसपछि यस्ता भयावह घटनाहरु हुन्छन् । त्यसकारण मानसिक स्वास्थ्यको बारेमा सबैले बेलैमा ध्यान पु-याउनुपर्छ ।

मानसिक रोगको बेलैमा उपचार गरियो भने मान्छे पूर्ण रुपमा स्वास्थ हुन्छ । मानसिक स्वास्थ्यबारे बेलैमा सचेत बन्ने हो भने समाजमा यस्ता किसिमका अरुलाई सिध्याएर आफू पनि सिद्धिने घटना कम गर्न सकिन्छ ।