नेप्से परिसूचक २६.८१ अंकले घट्यो

नेप्से परिसूचक २६.८१ अंकले घट्यो



काठमाडौं । लगातारको गिरावटसँगै सेयर बजार परिसूचक नेप्से १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ ।

मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न पुगेको हो । आज कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएकोमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४० प्रतिशत र ०.८० प्रतिशतले वृद्धि भएका छन् ।

आज कूल २४८ कम्पनी दोस्रो बजारमा भाग लिएकामा २०६ कम्पनीको मूल्य घटेको छ भने ३८ कम्पनीको बढेको र ४ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।