पारदर्शी हुँदा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भइयो : अध्यक्ष केसी

पारदर्शी हुँदा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भइयो : अध्यक्ष केसी

म सबैलाई हार्दिक बधाई र धन्यवाद दिन चाहान्छु



राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा महांकाल गाउँपालिका यस वर्ष ललितपुर जिल्लाकै उत्कृष्ट भएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये महांकाल गाउँपालिका सबैभन्दा बढी ३८ दशमलव ४४ अंक प्राप्त गरी उत्कृष्ट भएको हो । यसै सन्दर्भमा गाउँपालिकाकामा भइरहेका काम कारवाहीको विषयमा अध्यक्ष गणेशबहादुर केसीसँग ग्लोब नेपालका लागि रामनाथ कुँवरले गरेको कुराकानी–

० स्थानीय तहमा उत्कृष्ट कार्यसम्पादन गर्न कसरी काम गर्नुपर्दो रहेछ ?

– हामी निर्वाचित भएर आएपछि कुन विधि र प्रक्रियामा काम गर्ने भनेर सामान्य अनुसन्धान गरियो । समयमा बजेट अधिवेशन बस्ने, समयमा बजेट पारित गर्ने, करका दायराहरुको सुनिश्चित गरेर कार्यान्वयन गर्ने, शिक्षा, स्वास्थ्यलगायतका हरेक क्षेत्रमा काम गर्ने, विकास निर्माणमा आर्थिक पारदर्शिता देखाउने जस्ता १९ वटा सुचकमा काम गर्दा कार्यसम्पादन मुल्यांकन राम्रो हुँदो रहेछ । यसरी कार्यसम्पादन गर्नुपर्छ भन्ने कुरा हामीलाई पनि थाहा थिएन । जिल्लामा उत्कृष्ट घोषित भएपछि मात्र थाहा पाएका हौं । सबैभन्दा मुख्य कुरा सिस्टममा चल्न पर्दोरहेछ भन्ने कुराको थप ज्ञान आर्जन भयो ।

० महांकाल गाउँपालिकाले हाल कुन–कुन क्षेत्रलाई प्रथामिकतामा राखेर काम गरिरहेको छ ?

– सबै भन्दा पहिलो त हामीले पालिकाको कामलाई सिस्टममा ढालियो । कतिपय कामहरु सिस्टमबाहिर गएर गर्दा महालेखा परिक्षकले पनि धेरै ब्यरुजु औंल्याइदिने गर्छ । हामीले त्यसलाई नियन्त्रण गर्दै आएका छौं । हाम्रो पलिकाको मुख्य प्रथामिकता भौतिक पूर्वधार नै हो ।

कृषि र पशुपालनमा हामीले आवश्यक आर्थिक लगानी गर्न सकेका छैनौं । तर यहाँको मुख्य आयको स्रोत चाहि पशुपालन नै हो । बाटोघाटो र पुलपुलेसा लगायतका भौतिक विकाससँगै कुषि र पर्यटनमा जोड दिने हाम्रो लक्ष्य हो ।

० पर्यटन विकासका लागि महत्वपूर्ण के रहेछ ?

– हिन्दु धर्मग्रन्थमा भएको कालेश्वर महादेव जहाँ सतिदेविको कण्ठ पतन भएको भनेर उल्लेख गरिएको छ, त्यो स्थान यहाँ पर्छ । हिन्दुमार्गीहरु तर्ने बैतर्नी धाम यहीँ छ । जुन वेद पुराणमा पनि उल्लेख छ । त्यसैगरी लुमतुङ गुम्बा, ऐतिहासिक गढी र ढुंगामाथि ढुंगा बसेको स्थान पनि यहाँ छ । पर्यटकीय स्थानको रुपमा प्रख्यात सिम्बा झरना र चमेरे गुफालगायतका स्थानहरुको प्रचारप्रसार गरेर पर्यटन विकासमा जोड दिने हाम्रो लक्ष्य छ ।

० पालिका प्रमुख भएर काम गर्दैगर्दा के कस्ता चुनौतिको सामना गर्नुपर्दो रहेछ ?

– मुख्य समस्या बजेट अभाव नै हो । पैसा कम हुँदा हामीले चाहेअनुसार काम गर्न सक्दैनौं । ठूला महानगर र नगरसँग पैसा धेरै हुन्छ कहाँ लगानी गर्ने भन्ने चिन्ता हुन्छ । तर, हामीकहाँ पैसा कम भएर चिन्ता छ । संघीय सरकारले हामीलाई जुन वित्तीय समान्निकरण अनुदानको रुपमा बजेट दिन्छ त्यो अत्यन्तै कम छ । यहाँको भौगोलिक र विकासको अवस्थालाई हेरेर विनियोजन गर्न पथ्र्यो तर जनसंख्याको आधारमा बजेट आउँछ, त्यो हाम्रो लागि चुनौति हो ।

त्यसैगरी विपक्षी राजनीतिक दलले सहयोग नगर्ने, आफ्नै पार्टीका साथीहरुले पनि मैले राम्रो काम गर्दा पछि आफू पछाडि पर्छु भन्ने मनसायले असहयोग गर्ने जस्ता चुनौतिहरु पनि छन् ।

केन्द्र सरकारले हामीलाई आफै सबल बन भन्छ । तर हामी आफै सक्ष्म हुन हामीले आफ्नै आम्दानी बढाउन पर्ने हुन्छ । यसमा हाम्रो प्राकृतिक स्रोत साधनलाई हामीले नै प्रयोग गर्न पाउनुपथ्र्यो तर जमिन, जंगल र जलमा अंकुश लगाएको छ । यसमा हामीले केही हलचल गर्न सकिदैन । यसरी विरोधाभास तरिकाले संघीय सरकारले अधिकार प्रत्यायोजन गरेको छ । जमिन, जंगल र जलमा अधिकार नभएसम्म हामीलाई चुनौति रहिरहन्छ ।

० संघ र प्रदेश सरकारबाट महांकालमा के कस्ता योजना कार्यान्वयनमा छन् ?

– हाम्रो पालिकामा संघीय सरकारबाट कुनै पनि योजना परेको छैन् । यो अत्यन्तै दुखद कुरा हो । तर प्रदेश सरकारले भने पछिल्लो समय बाटो स्तरउन्नतिका लागि राम्रो योजना पारेको छ ।

० महांकालको विकासमा जनसहभागिता कस्तो छ ?

– हाम्रो पालिकाको विकासमा अत्यन्तै उच्च जनसहभागिता छ । हरेक काममा गाउँवासीले हामीलाई साथ दिनुभएको छ । ग्लोब नेपालमार्फत म सम्पूर्ण गाउँवासीप्रति आभार प्रकट गर्छु । भर्खरै हामी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ललितपुर जिल्लामै उत्कृष्ट बन्न सफल भएका छौं । यसमा जनप्रतिनिधि, कर्मचारी र जनताको पनि अहम भुमिका छ । म सबैलाई हार्दिक बधाई र धन्यवाद दिन चाहान्छु ।