अमेरिकी शान्ति प्रस्ताव अस्वीकार्य : पुटिन

अमेरिकी शान्ति प्रस्ताव अस्वीकार्य : पुटिन



नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य रहेको बताएका छन् ।

बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने उद्देश्यले कूटनीतिक पहललाई तीव्र पार्नु भएको छ ।

तर विशेष गरी युक्रेनले रुसलाई भूमि हस्तान्तरण गर्नुपर्ने हो कि होइन र भविष्यमा मस्कोद्वारा सम्भावित आक्रमणबाट युक्रेनलाई कसरी सुरक्षित बनाउने भन्ने प्रश्नमा वार्ताले फेरि उही संवेदनशील मुद्दामा पुगेर रोकावट देखाएको छ ।

ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा उनका ज्वाइँ जारेड कुशनरले क्रेमलिनमा पुटिनसँगको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलसँग पनि भेट गर्ने योजना बनाएका थिए । बैठक भएको नभएकोबारे भने पुष्टि हुन सकेको छैन । हलान्डेल बिचस्थित शेल बे क्लबमा भएको बैठक औपचारिक रूपमा घोषणा नभएकाले अधिकारीले नाम नखुलाउने सर्तमा मात्र टिप्पणी गरेका छन् ।

पुटिनले मङ्गलबार विटकफ-कुसनरसँग भएको पाँच घण्टा लामो वार्ता ‘आवश्यक, उपयोगी तर कठिन’ भएको बताए । केही प्रस्ताव रुसका लागि स्वीकार्य नपरेको उनले उल्लेख गरे । नयाँदिल्ली आगमनअघि इन्डिया टुडेसँग कुरा गर्दै पुटिनले वार्तामा उठाइएका अमेरिकी विचार अघिल्ला छलफलका आधारमा भए पनि केही नयाँ तत्व पनि सामेल रहेको जानकारी दिनुभयो ।

“हामीले प्रत्येक बुँदा बुझ्दै अघि बढ्नुपर्ने भएकाले समय लाग्यो”, उनले भने, “कसैकसैमा हामी छलफल गर्न सक्छौँ, तर सहमत हुन सकिँदैन भन्ने कुरा स्पष्ट छ ।” ट्रम्पले विटकफ र कुसनर वार्ताबाट फर्कदा ‘पुटिन युद्ध अन्त्य गर्न इच्छुक हुनुहुन्छ’ भन्ने धारणा लिएर आएको बताउनुभएको थियो । पुटिनले अमेरिकाको २८ बुँदे प्रस्ताव छोट्याएर २७ बुँदा बनाइएको र त्यसलाई चार प्याकेजमा विभाजन गरिएको जानकारी दिए पनि कुन बुँदा स्वीकार्य वा अस्वीकार्य हो भन्ने खुलाउ गर्न चाहेनन् ।

रुसी राष्ट्रपतिले ट्रम्पको प्रयासको प्रशंसा गर्दै ‘दुवै पक्षलाई सहमत गराउनु सजिलो होइन’ भने । तर अहिले नै कुन बुँदा उपयुक्त वा अनुपयुक्त भन्ने बताउन नचाहेको उनको भनाइ थियो, किनकि यसले ट्रम्पको कूटनीतिक पहललाई असर गर्न सक्छ । पुटिनले रुसले पूर्वी डोनेट्स्क क्षेत्र पूर्णरूपमा लिने लक्ष्य पूरा गर्ने दाबी दोहोर्‍याउँदै ‘या त हामी बलपूर्वक छेउका क्षेत्र फिर्ता लिन्छौँ, वा युक्रेनी सैनिक पछि हट्छन्’ भने ।

यसैबिच, युद्ध क्षेत्रमा हिंसा रोकिएको छैन । रुसी क्षेप्यास्त्रले क्रिवी रिहमा प्रहार गर्दा तीन वर्षीया बालिकासहित छ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । आक्रमणले ४० भन्दा बढी आवासीय भवन, एक विद्यालय र घरेलु ग्यास पाइप क्षतिग्रस्त भएको छ । दक्षिणी सहर खेरसनमा अघिल्लो दिनको रुसी गोलाबारीमा छ वर्षीया बालिकाको मृत्यु भएको थियो । निरन्तर प्रहारपछि खेरसनको थर्मल पावर प्लान्ट बन्द हुँदा ४० हजारभन्दा बढी बासिन्दा प्रभावित बनेका छन् ।

ओडिसामा रुसी ड्रोन आक्रमणमा छ जना घाइते भएका छन् भने नागरिक तथा उर्जा पूर्वाधार क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । समग्रमा रुसले रातभर दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १३८ ड्रोन प्रहार गरेको युक्रेनी पक्षले बताएको छ । उता, खेरसनको रुसी-आयोजित प्रशासनले युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको तथा ६८ वर्षीया महिला घाइते भएको दाबी गरेको छ ।