टिकटक पूर्णरुपमा बन्द गर्न सकिएन : मन्त्री शर्मा

टिकटक पूर्णरुपमा बन्द गर्न सकिएन : मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक पूर्णरुपमा बन्द गर्न सरकार असफल भएको बताएकी छिन् । मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले भनिन्, ‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त गर्‍यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ ।’

इन्टरनेटको दुरुपयोगबाट महिलाहरूले असुरक्षा र हिंसा भोग्नुपरेको मन्त्री शर्माको भनाई छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन्छन् तर त्यसको नियमन गर्न नसकिने हुँदा असुरक्षा पैदा भएको उनको भनाई छ ।

मन्त्रीले भनिन्, ‘इन्टरनेटको प्रयोगबाट धेरै फाइदा लिन सक्छौँ । अझ जति प्रयोग गर्नुपर्ने हो । त्यति प्रयोग गर्न सकेको छैनौँ । तर यसको दुरुपयोगबाट महिलाहरूले असुरक्षा तथा हिंसा भोग्नुपरेको छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म हामी प्रयोग त गर्छौँ । तर त्यसलाई नियमन गर्ने स्थिति छैन ।’