शालिनको हत्याको छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

शालिनको हत्याको छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ



काठमाडौं । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ । 

संसद भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए ।

उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ ।

शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले आन्दोलन थप चर्को बनाउँदै लैजाने नेवि संघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए । नेविसंघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेको समेत उनको भनाइ छ । 

चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ ।