सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

आज निष्कर्षमा पुग्ने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । शुक्रबार साँझ भएको वार्ता सकारात्मक रहेको र आज पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए ।

‘समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,’ कुशवाहले भने ।

मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले शुक्रबारको चौथो चरणको वार्ता सकारात्मक रहेको बताए । उनले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।