काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएकाे छ ।
कक्षा ८ मा अध्ययनरत छात्रा शालिन गत १२ फागुनमा विद्यालयको छात्रावासको कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो ।
त्रिवि अस्पतालले प्रहरीलाई आज पठाएको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।
घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।
घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, ‘मलाई सबैले माया गर्नु है ।’ अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा उनले थप लेखेकी छन्–‘सरी एभ्रिबडी, सरी ममी ड्याड ।’
गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।


प्रतिक्रिया