अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी



सुनसरी । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ ।

मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन रानमा हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरैवटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइरहेका छन् ।

धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुन्, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोंचले फर्किएका विश्वकर्माले आफ्नै पुर्ख्यौली पेसालाई व्यावसायिक रुप दिने योजना बनाए । त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोले । सुरुमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोलेका विश्वकर्मा आफैँ खुकुरी बनाउँछन् । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउँछन् । उनका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उनी भन्छन्, “यहाँ उत्पादन भएका खुकुरीहरू भारत, चीन, क्यानाडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।”

धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्छन् । दर्नालका बावु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उनीहरूले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् ।

घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरू पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दैआएका दीपक दर्नाल त्यसको एक उदाहरण हुन् । उनले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहेका छन् । कोरोना महामारीभन्दा अगाडि त उनको उद्योगमा ६० जना कालीगढ थिए ।

उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तर्राष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनी बताउँछन् । खुकुरी उद्योगबाट हाल मासिक ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ ।’

उद्योग सञ्चालकहरूका अनुसार खुकुरीको मूल्य गुणस्तरअनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ ।

उद्योग सञ्चालकहरूले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० वटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सयवटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरूको भनाइ छ । उनीहरूका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् ।