काठमाडौं । नेपाल प्रहरीमा रोकिएको बढुवा प्रक्रिया तत्काल अघि बढाउने भएको छ । गृह सचिव एकनारायण अर्यालले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई निर्देशन दिएसँगै रोकिएको बढुवा प्रक्रिया तत्काल अघि बढ्ने भएको हो । गृह सचिव अर्यालले हिजो मंगलबार साँझ महानिरीक्षक कुँवरलाई बोलाएर वृत्ति विकासजस्तो विषयलाई तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।
‘गृहसचिवज्यूले आइजीसापलाई बोलाए लामो समयदेखि रोकिइराखेको बढुवा शुरु गर्न निर्देशन दिनुभएको छ’ गृह स्रोतले भन्यो ‘आजबाटै वरिष्ठ हवलदारको बढुवा शुरु हुन्छ होला ।’ सम्भवत: नेगेटिभ लिष्टमा रहेकोलाई छोडेर बाँकीको हकमा आज बुधवारबाट नै बढुवा प्रक्रिया अघि बढ्नेछ।
यससँगै अन्य बढुवाहरू पनि खुल्ने विश्वासमा प्रहरी अधिकारीहरूको छ । त्यसो त गृहमन्त्री रवि लामिछाने र गृह सचिव अर्यालले आ-आफ्नो जिम्मेवारीको काम गर्न थप आदेश कुरिरहन नपर्ने र नियमसंगत काम गर्न कहिँकतैबाट कुनै खालको दबाब नआउनेसमेत बताइसकेका छन् । जसले गर्दा पछिल्लो समय प्रहरीमा देखिँदै आएको अनावश्यक बाह्य राजनीतिक दबाब अन्त्य हुने विश्वास अधिकारीहरूको छ ।
मङ्गलवार मात्रै महिनौँदेखि रिक्त रहेको महत्त्वपूर्ण निकाय अध्यागमन विभागले महानिर्देशक पाएको छ भने अतिरिक्त सहसचिवहरूको सरुवा तथा पदस्थापन गर्ने काम सुरु भएको छ ।


प्रतिक्रिया