गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षीया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बै पलायन भयो । मुम्बै पुगेपछि उनको श्रीमान्‌को उतै मृत्यु भयो । श्रीमान्को मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानुको दुःख झन् थपियो । दुई वर्षअघि नेपाल आउने क्रममा रेलबाट खसेर दुवै खुट्टा गुमे ।

‘रेलबाट खसेपछि दुवै खुट्टा काटिए’, उनले भनिन्, ‘नजिकै रहेका प्रहरी र यात्रुहरुले रेल मुनिबाट तानेर ज्यान जोगाए ।’ अस्पतालमा लागेको उपचार खर्च आफन्तसँग तिरे । काटिएका दुवै खुट्टा अझै निको भएको छैन ।

ऋण लागेपछि दुवै छोरालाई विद्यालयबाट निकालेर काममा लगाउनु परेको उनको गुनासो छ । सामाजिक सुरक्षा भत्ता पाइएमा केही राहत हुने आशा छ । आफ्नो घर भत्किएपछि भारतबाट फर्केर छिमेकीकहाँ शरण लिएर बसेकी छन् ।

ज्ञानु बादी एउटा प्रतिनिधि पात्र मात्र हो । गर्जमुनिका १० परिवार बादी मध्ये पाँच परिवार भारत गएका छन् । मोहन, राजु, गणेश, पप्पु र भरत बादी घरमा ताल्चा लगाएर भारत गएका हुन् । मोहन, राजु र पप्पु बादीले छोराछोरी बस्तीकै अरुका जिम्मामा छोडेका छन् ।

‘अरु परिवार श्रीमती छोराछोरी लिएर भारत गएका छन्’, श्यामकुमाल बादीले भने, ‘तीन परिवारले मेरै जिम्मामा उनीहरुका केटाकेटी छाडेर गएका छन् ।’ भारतमा पुरुषले कुल्ली, चौकीदार, ज्यालादारी मजदुरी गर्छन् । महिलाले घर सरसफाइको काम गर्दै आएको उनले बताए ।

बादी समुदायको पुर्ख्यौली पेसा सुल्पा, हुक्कालगायत माटोका भाँडा बनाउने हो । तर समयक्रमसँगै त्यस्ता सामानले बजार नपाएपछि मजदुरीका लागि भारत जानुपरेको उनको भनाई छ । ‘विगतमा नाचगान गर्दै गाउँटोलमा माग्ने काम चलन पनि थियो, केहीले गाउँका जमिन्दारको हलो जोत्थे’ उनले भने, ‘अहिले मागेर कसैले दिदैनन् माग्न पनि नराम्रो लाग्छ, त्यो काम सबैले छोडिसके ।’

आर्थिक अवस्था कमजोर भएकाले बादी समुदायका बालबालिकाका नियमित विद्यालय जान सकेका छैनन् । विद्यालयले किताब निःशुल्क दिएपनि पोसाक, कापि, कलम लगायतका स्टेशनरी खरिद गर्न धौधौ छ ।

‘साँझ बिहानको खानाको छाक कटाएर शुःल्क तिर्दै आएका छौँ’ स्थानीय बिष्ना बादीले भने, ‘केही महिना अघि सरस्वती पूजा भनेर बालबालिकाबाट रु एक सय ५० रकम विद्यालयले लियो, परीक्षा शुल्क भनेर अरु पैसा पनि लिन्छन् ।’ विद्यालयले भर्ना र मासिक शुःल्क लिने गरेकाले मजदुरी गरेको पैसाले घरखर्च चलाउने की बालबालिकालाई पढाउने समस्या हुने उनको गुनासो छ ।

बादी समुदायको बस्ती निकुञ्जसँगै जोडिएको छ । हात्ती लगायतका जङ्गली जनावरको त्रास उत्तिकै छ । हात्ती आएको थाहा पाउन रातको समयमा बस्तीका घर देखिने बत्तिको माग गर्दै आए पनि व्यवस्था नभएको उनीहरुको गुनासो छ । स्याली नदीले वर्षेनी जग्गा कटान गरेको छ । बस्ती सुरक्षित बनाउन तटबन्धको माग गरेपनि पूरा नभएको पविसरा बादीले बताइन् ।

दातृ निकाय र सरकारी निकायले सीपमूलक, आयआर्जन र रोजगारमूलक कार्यक्रममा गर्जमुनिका बादी समुदायलाई समेट्न नसकेको पविसराको आरोप छ । सुरक्षित आवास कार्यक्रम अन्तर्गत सम्पन्नले घर बनाए तर बादी समुदाय वञ्चित भए । स्थानीय सरकारले सञ्चालन गर्ने सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत बादी समुदायलाई नसमेटिएको उनीहरुको दुखेसो छ ।

विपन्नका लागि कम्बल वितरण गर्ने कार्यक्रम नगरपालिकाले १२ वटै वडामा गरे पनि बादी समुदाय वञ्चित भएका छन् । गर्जमुनिका बादी समुदायसँग घरवासका लागि दुई देखि तीन कठ्ठा जग्गा छ । केही परिवारले मजदुरी गरी घर बनाउन थालेपनि पूरा गर्न सकेका छैनन् । सामाजिक विभेद उत्तिकै छ ।

बादी समुदायलाई खाना पकाउन आगो बाल्न समेत समस्या छ। ‘निकुञ्जबाट दाउरा ल्याउन गए जरिवाना स्वरुप रु पाँच सय तिराइन्छ, सामुदायिक वनबाट दाउरा पाइदैन ।’ पविसराले भनिन्, ‘बस्तीमा खानेपानीको अभाव छ । पहिला होटलमा चिया खाए गिलास धुनुपर्ने अवस्था थियो । त्यो भने हटेको छ ।’

गर्जमुनिका वडा अध्यक्ष चक्रबहादुर खडकाले बादी समुदायका लागि रु ५० हजार बजेटको व्यवस्था गरेको बताए । बादी समुदायकै मागको आधारमा विनियोजित बजेटको कार्यक्रम बनाएर लागू गरिने उनले बताए ।