दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँका नाममा रहेको हतियारको इजाजत पत्र र नवीकरणबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका उपसचिव (कानून) ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।

प्रसाईँका सहयोगीबाट बरामद भएको २२ बोर ए ३५४७५२ हतियार कानुनविपरीत इजाजत पत्र जारी र नवीकरण भएको भन्दै छानबिन समिति गठन भएको हो । गत चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईँका दुई जना सहयोगीहरू दीपक खड्का र राजकुमार धिताल हतियारसहित पक्राउ परेका थिए । खानतलासी गर्दा उनीहरूको साथबाट अर्धस्वचालित हतियार र सय गोली फेला परेको थियो ।

सर्वोच्च अदालतले इजाजत पत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेका हुन् । समितिलाई २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजत पत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्न कार्यादेश दिइएको छ ।

यसै गरी व्यक्तिगत रूपमा इजाजत पत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने, हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्ने र इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न सो को अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने कार्यादेश छानबिन समितिले पाएको छ ।

समितिले हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने छ ।