प्रतिनिधिसभा : सुनारको परिवारलाई राहतको माग

प्रतिनिधिसभा : सुनारको परिवारलाई राहतको माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

“पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी १२ कक्षामा पढ्दै गरेकी १९ वर्षीया सुनारको यही चैत १३ गते बिहान ९ बजेतिर पँधेरोमा नुहाउन जाँदा एक जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको कायरतापूर्वक हत्या गरियो । हत्यामा संलग्नलाई अहिले प्रहरीले पक्राउ गरेको छ । हत्यारा पत्ता लागेको छ । तर पनि परिवारले राहत पाउन सकेको छैन”, उनले भने ।

सुनारमाथि भएका जस्ता घटनाले समाजलाई अत्यन्त उच्छृङ्खल र निराशा पैदा गरेको बताउँदै उनले गरी खाने सुनारको परिवार अत्यन्त पीडामा रहेको उल्लेख गरे । “सरकारले पीडामा रहेको सुनारको परिवारलाई राहत हुने गरी केही व्यवस्थापन गरोस् भन्ने माग गर्न चाहन्छु, र यस्ता घटनालाई निरुत्साहित गर्नुपर्छ भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्नेतर्फ ध्यानाकर्षण गर्दछु”, उनले भने ।

सांसद गैरेले शनिबार आएको हावाहुरीका कारण तानसेन नगरपालिका कैलाशनगर निवासी २० वर्षीय भुवन सिङ्जालीको रुख ढलेर लाग्दा निधन भएकोप्रति दुःख व्यक्त गरे । सो घटनामा एक जना घाइते भएका थिए ।

हावाहुरीकै कारण पाल्पाको रिब्दिकोट गाउँपालिकामा मात्रै रु आठ लाख बराबरको अकबरे खुर्सानीका विरुवा नष्ट भएको र त्यसबाट हुने आम्दानी करिब रु आठ करोड बारबरको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

पाल्पाको रिब्दिकोटलगायतका गाउँपालिकामा सुन्तला खेतीयोग्य क्षेत्रमा हजारौँ सुन्तला र कागतीमा फूलमा क्षति हुँदा रु तीन करोड बराबरको आम्दानी गुमेको बताए । उनले सोही क्षेत्रमा काक्रो, बोडी, गोलभेँडा फर्सीलगायतका विरुवामा पनि क्षति हुँदा रु चार करोड बराबरको क्षति भएको उल्लेख गरे ।

त्यसैगरी पाल्पाको तिनाउ, तानसेन, रैनादेवी छहरा, बगनासकालीलगायतका नगरपालिका र गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर र विद्यालयका छाना उठाएको भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । “विद्युत्का पोल ढलेका छन्, किसानले ठूलो मात्रामा क्षति बेहोर्नु परेको छ । पीडितहरुलाई सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गरोस”, उनले भने ।

एकातिर वन डढेलो तथा आगजनी र अर्कोतर्फ हावाहुरीसहितको वर्षाका कारण किसानले हरेक वर्ष समस्या भोग्नुपरेको उनको भनाइ छ । उनले सरकारले समयमै सम्भावित क्षतिको अनुमान गरी त्यसलाई न्यूनीकरण गर्ने, पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न व्यवस्थित योजनाका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।