पर्सा राष्ट्रिय निकुञ्जमा भारतीय पर्यटक आउने क्रम बढ्यो

पर्सा राष्ट्रिय निकुञ्जमा भारतीय पर्यटक आउने क्रम बढ्यो



पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको छ । गएको साउनदेखि फागुनसम्मको आठ महिनामा छ सय १३ जना पर्यटकले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक बर्षको शुरुको आठ महिनामा एक सय ४० जना पर्यटकले मात्र भ्रमण गरेका थिए । निकुञ्जमा आन्तरिक पर्यटकसँगै भारतीय तथा सार्क क्षेत्रका अरू देशका पर्यटक आउने गरेका निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए ।

पर्सा, बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि २०७४ सालदेखि खुला गरिएको हो । निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन् ।

निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै पाटे बाघसहितका वन्यजन्तुको सङ्ख्या पनि वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज रैथाने हात्तीको प्रमुख बासस्थान हो । चालु आर्थिक वर्षको आठ महिनामा छ सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एकजना विदेशी पर्यटक छन् ।

अघिल्लो आर्थिक वर्षको आठ महिनामा एक सय ४० जना पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेका थिए । गत आर्थिक वर्षमा पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना भारतसहित सार्क देश र ३२ जना अन्य देशका पर्यटक गरी एक हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए ।

निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार पाटेबाघको सङ्ख्या ४१ वटा पुगेको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको सङ्ख्या बढेको हो । कुल ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

निकुञ्जको भ्रमणमा आउने पाहुनाका स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’ मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास सञ्चालन गरिएको छ । स्थानीय संस्कृतिअनुसार सुनाखरी सामुदायिक घरबासले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ ।