ऊर्जा राज्यमन्त्री कान्छारामको ठूलो स्वर !

ऊर्जा राज्यमन्त्री कान्छारामको ठूलो स्वर !


ग्लोब नेपाल
351
Shares

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बीच प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भनाभन भएको छ । सिहदरबारमा शुक्रबार बसेको समिति बैठकमा कांग्रेस सांसदसमेत रहेका शर्मा र कांग्रेसबाटै राज्यमन्त्री बनेका तामाङबीच विवाद भएको हो ।

महामन्त्री शर्माले तामाङको निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेको विषयमा प्रश्न गरेका थिए । शर्माले त्यसबारे स्पष्ट पार्न भनेपछि तामाङ झोक्किए । जवाफमा तामाङले आफ्नो नाम जोडेर आएको समाचार गलत भएको भन्दै प्रतिवाद गरे । आफू सांसद बन्नुअघि नै निर्माण कम्पनी छाडिसकेकाले त्यसको जिम्मा लिन नसक्ने उनले बताए ।

तामाङले आफू राजनीति नै छाड्नसमेत तयार रहेको उल्लेख गरे । ‘सांसद हुनुभन्दा पाँच वर्षअघि नै कन्स्ट्रक्सन छाडेको हुँ । कानूनले रोक्ने गरी बस्दिन । सबै छाडिसकेँ । राजनीति पनि छाड्छु ।’

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत साता सूचना जारी गर्दै राज्यमन्त्री तामाङ सञ्चालक रहेको कान्छाराम-एनबी कन्स्ट्रक्सनलाई साँढे दुई वर्षका लागि कालोसूचीमा राखेको जनाएको थियो । शर्माको प्रश्नमा तामाङले दिएको जवाफ चित्त बुझेपछि एमाले सांसद रघुजी पन्तले उनलाई फेरि त्यही विषयमा प्रश्न गरे । पन्तले जिम्मेवार हुन राज्यमन्त्री तामाङलाई आग्रह गरे ।

पन्तले राज्यमन्त्री तामाङको निर्माण कम्पनीले विभिन्न जिल्लामा काम थाल्ने र बीचैमा छाड्ने गरेको उदाहरण प्रस्तुत गर्दै आफ्नो जिल्ला ललितपुरमा पनि त्यस्तै अवस्था रहेको बताए । ‘मेरो क्षेत्रमा पनि काम अपुरो छ । तपाईंको बारेमा विभिन्न जिल्लामा प्रश्न उठेका छन्, काम गर्नुस्’, पन्तले भने ।

त्यसको जवाफमा राज्यमन्त्री तामाङले करोडौंको सम्पत्ति धरौटीमा राखेर काम गरिरहेको भन्दै बचाउ गरे । उनले आफूलाई राज्यले ज्वाईं पालेजस्तो गरेको नभई करौडौंको सम्पत्ति धरौटीमा राखेर काम गरेको भन्दै गैरकानूनी काम गरेको भेटिए उक्त सम्पत्ति जफत गरेर देखाउन चुनौती दिए ।