नुन पाउन पनि नागरिकता पेस गर्नुपर्ने

नुन पाउन पनि नागरिकता पेस गर्नुपर्ने



सिमकोट । हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो ।

उनीहरूलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए । उनका अनुसार एक जनाबाट ९० लिने गरिएको छ । ‘यसरी प्रतिकिलो रु नौ पर्दछ । एक बोरामा पचास प्याकेट नुन हुन्छ । त्यसको मूल्य ४ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ,’ उनले भने ।

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ । सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ ।

लामाका अनुसार आर्थिक वर्ष २०८०–८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ । जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उनले बताए । झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको भन्दै चङ्खेली गाउँपालिकामा तीन सय ८७, सर्केगाडमा चार सय ८५, अदानचुलीमा चार सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण जानकारी दिए ।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए । चङ्खेली–५ को नेप्का र उत्तरी नाम्खा– ६ को लिमिमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको उनले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुनको प्रयोगमा कमी हुँदै गएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले जनाएको छ ।