‘पेमेन्ट गेटवे’ खरिद प्रकरणमा सुनिल पौडेल दोषी ठहर

‘पेमेन्ट गेटवे’ खरिद प्रकरणमा सुनिल पौडेल दोषी ठहर


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् ।

विशेष अदालतले नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै शुक्रबार दोषी ठहर गरेको हो । सोही प्रकरणमा आठ जनाले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उनको सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको उनले बताए ।

सचिव मधु मरासिनीलाई सफाइ
पेमेन्ट गेटवे प्रकरणमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले विशेष अदालतबाट सफाइ पाएका छन् । शुक्रबार विशेष अदालतले सचिव मरासिनीसहित ८ जनालाई सफाइ दिएको हो अदालतका प्रवक्ता कार्कीले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा सचिव मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।

अख्तियारले मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई समेत मुद्दा चलाएको थियो । त्यस्तै रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।