लगानीका लागि नेपाल राम्रो गन्तव्य हाे, ठूलो मात्रामा लगानी ल्याउनुस् : पूर्वअर्थमन्त्री डा. महत

लगानीका लागि नेपाल राम्रो गन्तव्य हाे, ठूलो मात्रामा लगानी ल्याउनुस् : पूर्वअर्थमन्त्री डा. महत


ग्लोब नेपाल
432
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ लाई सम्बाेधन गर्दै महतले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला देश छिमेकी भएकाले बजारको समस्या नरहेको, उद्योग संचालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने कानुनी व्यवस्था रहेको लगायत कारण देखाउँदै विदेशीहरुलाई नेपालमा ठूलो मात्रामा लगानी ल्याउन आग्रह गरेका हुन् ।

पूर्वअर्थमन्त्री डा. महतले पार्टीहरुबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ताले अन्योलमा रहनुपर्ने अवस्था नरहेको बताए। ‘विचारधारा फरक भए पनि हामी एकताबद्ध भएर काम गर्छौं । सरकारमा भए पनि नभए पनि हाम्रो एउटै धारणा हुन्छ । नीति र कानुनमा स्थिरता छ,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ। लगानीका लागि यहाँ धेरै अवसर छन् । त्यसैले अवसर सदुपयोग गर्न आग्रह गर्छौं ।’

उनले लगानीका क्षेत्र समेत औंल्याए। जलविद्युतलाई महतले लगानीको मुख्य क्षेत्र भनेका छन् । ‘बजारको समस्या छैन । भारतले १० हजार मेगावाट लिने गरी दीर्घकालीन सम्झौता गरेको छ भने बंगलादेश पनि नेपालबाट विद्युत लैजान इच्छुक छ,’ उनले भने ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत लाने गरी गत पुस १९ गते दीर्घकालीन विद्युत व्यापार सम्झौता गरेको थियो। यस्तै बंगलादेशले पनि नेपालबाट विद्युत लान चाहेको छ।

महतले पर्यटन, कृषि र सूचना प्रविधि पनि लगानीकर्ताका लागि राम्रो क्षेत्र भएको बताए। ‘फरक फरक तापक्रमको भूगोल छ। सांस्कृतिक पक्षमा पनि उस्तै विविधता छ,’ उनले पर्यटनमा लगानी गरेर मुनाफा कमाउन सकिने भन्दै कृषिमा नेपाल अर्गानिक उत्पादनको हब हुन सक्ने बताए।

‘नेपाल अर्गानिक उत्पादनका लागि हब हो। कृषिमा लगानी गर्न चाहनेका लागि नेपालमा स्वागत छ । यो उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘सूचना प्रविधि पनि लगानीको क्षेत्र हो। कोभिडपछिको निर्यातले यसको पुष्टि गरेको छ।’

सूचना प्रविधि क्षेत्रले गत वर्ष ६७ अर्बको सेवा निर्यात गरेको तथ्यांक छ । ‘हामीकहाँ सबैभन्दा तिब्ररुपमा विकास भएको क्षेत्र सूचना प्रविधि हो । यो क्षेत्रलाई प्रोत्साहन गर्न ५० प्रतिशत कर छुट गरिएको छ,’ उनले भने ।

महतले धेरैजसो उत्पादनका लागि नेपाल नै बजार भएकाले लगानीकर्ताले अलमल गर्नुनपर्ने भन्दै नेपालमा व्यक्तिगत रुपमा सानो लगानीभन्दा पनि व्यावसायिक रुपमा ठूलो लगानीको खाँचो रहेको औंल्याए ।