रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्ती : राष्ट्रसङ्घ महासचिव

रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्ती : राष्ट्रसङ्घ महासचिव



न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण “रणनीतिक गल्ती” हुने चेतावनी दिएका छन् ।

रफाहमाथि आक्रमण एक रणनीतिक भूल, राजनीतिक विपत्ति र अमानवीय कार्य हुने गुटेरेसले ट्वीटरमा पोस्ट गरिएको भिडियोमा उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायल–हमास युद्ध रोक्न अपिल गरे ।

उनले इजरायलमाथि प्रभाव राख्ने सबै मुलुक एवं व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न आग्रह समेत गरेका छन् । महासचिव गुटेरेसले यो समय युद्धरत पक्षहरुलाई सम्झौतामा ल्याई युद्ध अन्त्य गर्ने उपयुक्त समय भएको पनि उल्लेख गरे ।

मानवीय युद्धविराम, बन्धकहरूको बिनाशर्त रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढावा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्रसङ्घीय प्रमुखको भनाई छ ।

प्यालेस्टिनी सिभिल डिफेन्सको रिपोर्ट अनुसार मङ्गलबार रफाहमा इजरायलले गरेको हवाई आक्रमणका कारण धेरै हताहत र घाइते भएका छन् ।

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी डब्लुएएफएले रफाहमा गरिएका दुईवटा आक्रमणमा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।