पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय

पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताएका छन् ।

बोर्डका अध्यक्षसमेत रहेका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निर्णय गर्न आफू सधै सकारात्मक रहेको जानकारी दिए ।

बोर्डले आज आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सचिव पाण्डेयले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न पनि बोर्डलाई निर्देशन दिए ।

पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै उनले बोर्ड गठन गर्दाको उद्देश्य अनुरूप काम गर्न सके नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

बोर्डका बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाबीच सहकार्य आवश्यक भएको उल्लेख गरे । उनले बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नुपर्ने र त्यसमा निजी क्षेत्रकोतर्फबाट सधैसाथ सहयोग रहने बताए ।

बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने विश्वास व्यक्त गरिन् ।

त्यस अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन बोर्डको समग्र गतिविधिबारे प्रस्तुतिकरण दिएका थिए ।