भद्रपुरमा गर्भवतीलाई मह र घीऊ

भद्रपुरमा गर्भवतीलाई मह र घीऊ



झापा । गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ ।

‘आमासँग नगर उपप्रमुख’ कार्यक्रम अन्तरगत सो पालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ । गर्भवतीलाई आवश्यक पर्ने पौष्टिक आहारसँगै मह र घीउसमेत प्रदान गर्ने गरिएको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताए ।

“यो सेवा लिन गर्भवतीले सामुदायिक अस्पतालमा कम्तीमा दुई पटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ”, उपप्रमुख कार्कीले भने, “गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

नगरले सञ्चालन गरेको यो कार्यक्रम अन्तरगत अहिले नगर क्षेत्रका नौ सय गर्भवतीले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै सेवा लिएको उपप्रमुख कार्कीले बताए । “स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेलाई नगद दुई हजारसमेत दिने गरेका र्छौं ” उनले भने ।

भद्रपुर नगरपालिकाले आमासँग नगर उपप्रमुख कार्यक्रमका लागि २० लाख बजेट व्यवस्थापन गरेको छ । सोही रकमबाट गर्भवतीलाई मह र घीउ प्रदान गर्ने गरिएको छ । नगरले परिवार कल्याण कार्यक्रम अन्तरगत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, नवजात शिशुको निःशुल्क उपचार लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको छ । मातृ तथा नव शिशु कार्यक्रम सञ्चालन गर्न रु १५ लाख विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताए ।

भद्रपुर नगरपालिकाले ‘अपाङ्गताको स्वास्थ्य हाम्रो जिम्मेवारी’ कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री दिनुका साथै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । यस्तै ‘नगरप्रमुखसँग बीमा नवीकरण-निःशुल्क बीमा’ कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रममार्फत विपन्न समुदायका नागरिक तथा सन्थाल समुदाय बढी लाभान्वित भएका छन् । यो कार्यक्रमका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको बताइएको छ ।

यसैगरी मिर्गौला प्रत्यारोपण-डायलाइसिस गरेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएका बिरामीका लागि भद्रपुर नगरपालिकाले स्वास्थ्य उपचार खर्चबापत हालसम्म ५१ लाख प्रदान गरेको छ । उक्त सेवा लिनेको सङ्ख्या एक सय ८५ जना पुगेको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष यो सेवा लिनेको सङ्ख्या एक सय ५२ जना रहेको थियो ।