इजराइलले प्यालेस्टिनी बैंकहरू बन्द गरे ‘मानवीय सङ्टक’ उत्पन्न हुने येलेनको चेतावनी

इजराइलले प्यालेस्टिनी बैंकहरू बन्द गरे ‘मानवीय सङ्टक’ उत्पन्न हुने येलेनको चेतावनी



स्ट्रेसा (इटाली) । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार इजराइलले प्यालेस्टिनी बैङ्कहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुनसक्ने चेतावनी दिएकी छन् ।

“म विशेषरूपमा इजराइलको कारबाहीको धम्कीबाट चिन्तित छु, यसले प्यालेस्टिनी बैङ्कहरूलाई उनीहरूको इजराइली सम्पर्कका बैंकसँग विच्छेद गराउँछ”, जि७ का वित्तमन्त्रीहरूको बैठक हुने इटालीको स्ट्रेसामा उनले पत्रकारहरूसँग भनिन्, “इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित करिब आठ अर्ब डलर आयात गर्न सक्षम यी बैंकिङ च्यानल लेनदेन प्रशोधन गर्न महत्त्वपूर्ण छन्, साथै यी च्यानलले प्यालेस्टिनीहरूको जीविकोपार्जनमा निर्भर रहेको निर्यातमा एक वर्षमा करिब दुई अर्ब डलरको सुविधा दिन्छन् ।”

अमेरिका र जि७ ले प्रतिक्रियामा के गर्न सक्छन् भन्ने प्रश्नमा येलेनले कब्जामा परेको पश्चिम किनारमा आर्थिक अवस्थाका बारेमा उनले इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई एक महिनाअघि पत्र लेखेको बताइन् ।

“मैले भनेझैँ यदि प्यालेस्टिनी बैंकहरूलाई इजराइली पत्राचारबाट काटियो भने उचित समयमा मानवीय सङ्कट उत्पन्न हुने मेरो विश्वास छ”, उनले भनिन्, “निश्चितरूपमा यो यस्तो दृष्टिकोण हो जसमा हामी आवाज उठाउने छौँ ।”

“अन्य मुलुक पश्चिम किनारको अर्थतन्त्रमा यस्तो प्रकारको फैसलाको प्रभावका बारेमा चिन्ता व्यक्त गर्नेछन् भन्ने मलाई विश्वास छ”, येलेनले उक्त मुद्दामा जि७ मा छलफल गर्न सकिने उल्लेख गर्दै भनिन्, “यसको इजराइलमाथि पनि धेरै नै प्रतिकूल प्रभाव पर्नेछ भन्ने मलाई लागेको छ ।”

उनले इजराइलले प्यालेस्टिनी प्राधिकरणका लागि सङ्कलन गर्ने पैसा रोक्ने अमेरिकी चिन्तालाई दोहोर्याउँदै यसबाट ‘पश्चिम किनारमा आर्थिक स्थिरतालाई खतरामा पार्ने’ बताइन् ।

सन् १९९० को दशकमा नर्वेद्वारा आंशिकरूपमा मध्यस्थता गरिएको शान्ति सम्झौताअन्तर्गत इजराइलले प्यालेस्टिनी प्राधिकरणका लागि पैसा सङ्कलन गर्दछ । प्यालेस्टिनी प्राधिकरणले पश्चिम किनारका केही भागमा सीमित स्वायत्तता प्रयोग गर्दछ । तथापि गाजा पट्टीलाई सञ्चालन गर्ने हमासले अक्टोबर ७ मा गरेको आक्रमणलगत्तै इजराइलले स्थानान्तरणलाई रोकेको छ ।