राज्य व्यवस्था समितिका सभापति खतिवडाद्वारा ओखलढुंगामा जिपलाइन उद्घाटन

राज्य व्यवस्था समितिका सभापति खतिवडाद्वारा ओखलढुंगामा जिपलाइन उद्घाटन



ओखलढुंगा । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघीय सांसद रामहरी खतिवडाले विहिबार मानेभञ्ज्याङ गाउँपालिको वडा नं. ४, केतुकेमा निर्माण भएको जिपलाइन उद्घाटन गरेका छन् । सञ्चालनमा आएको ओखलढुंगा जिल्लाकै पहिलो जिपलाइनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले पर्यटन प्रवद्र्धनमा केतुकेको जिपलाइन कोसेढुंगा साबित हुने बताए । जिल्लाको विकास पर्यटन मार्फत सम्भव रहेको सभापति खतिवडाको भनाई छ ।

शहरी विकास शिर्षक अन्तर्गत प्राप्त बजेटबाट मानेभञ्ज्याङ गाउँपालिकाले ४४ लाख ६३ हजार ५ सय लागतमा १७ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कालिका निर्माण सेवालाई गत माघमा ठेक्का दिएको थियो । आयोजना तोकिएको समयभन्दा एक महिना अगाडि नै सम्पन्न भएको छ । ५०० मिटर लम्बाई रहेको जिपलाइन केतुकेको वल्लो बजारदेखि पल्लो बजारसम्मको दुरीमा रहेको छ ।

यस जिपलाइनले ओखलढुंगामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण योगदान हुने बताउँदै सासंद खतिवडाले आफू समग्र ओखलढुंगाको सम्वृद्धिको लागि अहोरात्र खटिएको बताए । ‘ओखलढुंगाको समग्र विकास गर्ने एकमात्र अर्जुनदृष्टि लिएर हिडेको छु, यसमा सबैको साथ भयो भने द्रुत विकासको एक नमूना जिल्लाको रुपमा ओखलढुंगालाई चिनाउन सकिन्छ,’ सांसद खतिवडाले भने ।

कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतमले पर्यटनको माध्ययमबाट समृद्धि ल्याउन जिपलाइन सहयोगी सिद्ध हुने बताए । केतुके र समग्र जिल्लाको विकासका लागि आफुले प्रदेशमा सक्दो पहल गर्ने प्रदेश सांसद गौतमको भनाई छ । कार्यक्रममा मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले पनि आफ्नो धारणा राखेको थिए । ग्लोब नेपालसँगको कुराकानीमा अध्यक्ष रुम्दालीले पर्यटन प्रवद्धनको लागि गाउँपालिकाका विभिन्न स्थानमा पार्क, गुम्बा, मन्दिर तथा मेला लाग्ने ठाउँहरुलाई व्यवस्थित गर्ने अभियानमा आफू लागेको बताए ।

ओखलढुंगाको विकास गर्न भुमिका खेल्नेदेखि भुकम्प, कोरोना भाइरसको महामारी, बाढीपहिरो जस्ता प्राकृतिक विपत्ती लगायत ओखलढुंगेली जनताको हरेक दुःखमा मलमपट्टि लगाउन अहोरात्र खटिने नेता हुन् सांसद खतिवडा । राजधानीमा भन्दा बढी समय ओखलढुंगामै विताउन चाहने खतिवडा जिल्लाका हरेक पालिकामा बारम्बार पुगिरहेका हुन्छन् ।

निर्वाचनमा आफूले गरेको बाचा पूरा गर्न केन्द्रमा बजेट पार्नेदेखि जिल्लामा भईरहेका विकासका कार्यमा तिव्रता दिन अहोरात्र खटिएका छन् । संसद बैठक समापन भएपछि एकदिनको लागि भएपनि रातारात ओखलढुंगा पुग्ने बानीले निर्वाचन क्षेत्र पुगिरहने देशभरकै नेताहरुको सूचीमा खतिवडाको नाम अग्रपंक्तिमा आउने गर्छ । सदनमा देशको बेथितिबिरुद्ध सुनिएको उनको बुलन्द आवाजले उनलाई देशकै नेताको रुपमा स्थापित गरिसकेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएपछि राष्ट्रिय मुद्धाहरुमा सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने र निर्देशन दिने कार्य गरेका खतिवडा देशव्यापी रुपमै चर्चित नेता हुन्।

थप तस्वीरहरु