नेपालको पर्यटन प्रवर्द्धन गर्न चीनको क्वाङ्चौ सहरमा छलफल

नेपालको पर्यटन प्रवर्द्धन गर्न चीनको क्वाङ्चौ सहरमा छलफल



काठमाडौं । चीनको क्वाङ्चौमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको क्वाङ्चौमा नेपालको प्रचारप्रसार गरेका छन् ।

३२औं क्वाङ्चौ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको छ। ३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त ब्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशहरूबाट ४० हजारभन्दा बढी सहभागी थिए ।

नेपाल पर्यटन बोर्डले १६ मेका दिन स्थानीय अपरेटर तथा सहभागी माझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुति दिएको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षक अन्तर्गत गोल्ड अवार्ड र जीआईटीएफ आयोजकबाट ‘द बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।

सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरे ।