युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा



वासिङटन डीसी । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका निम्ति २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोलाबारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्‍याए । उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु किभलाई खार्किभनजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भनेका छन्, “आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ । रुसको आक्रामकताविरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ ।”

सन् २०२२ मा मस्को र किभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो । रुससँग चलिरहेको युद्धबीच किभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा ब्लिन्केन युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए । २०२२ फेब्रुअरीमा मस्को र किभबीच युद्ध सुरु भएपछि उनले चौथोपटक यो अघोषित भ्रमण गरेका हुन् ।