व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्



काठमाडौँ । सहकारी समस्या समाधानका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफल विना निष्कर्ष सकिएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबिच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गतिरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई आग्रह गरेका थिए ।

देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताएका थिए । तर प्रधानमन्त्रीको उक्त प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको नेता परियारले जनाए । ‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को को हुन् भन्ने पनि उल्लेख नगरी छानबिन अगाडी बढ्न सक्दैन भन्ने हाम्रो अहिलेसम्मको अडान यथावत् छ’, परियारको भनाइ छ ।

सहकारी प्रकरणमा कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताको तहमा छलफल भएको हो । यद्यपि आइतबारको छलफलमा एमाले अध्यक्ष ओली भने अनुपस्थित रहेका थिए । आजै सरकारले संसदबाट नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ भने प्रतिपक्षले संसद् अवरोध जारी राख्ने जनाएको छ ।