चार वरिष्ठ प्रहरी अधिकृत डिआइजीमा पदोन्नति

चार वरिष्ठ प्रहरी अधिकृत डिआइजीमा पदोन्नति



काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) पदोन्नति भएका चारजना प्रहरी अधिकृतलाई आज प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दर्ज्‍यानी चिह्न प्रदान गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका चारजना प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्‍यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्‍यानी चिह्न प्रदान गरे । पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी हुन् ।

गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्‍यानी चिह्न प्रदान गरे ।

सो क्रममा महानिरीक्षक कुँवरले राष्ट्र, जनता र सङ्गठनप्रति गरेको योगदान, कार्यक्षमतालगायत बढुवाका सम्पूर्ण आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताए ।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “राज्य र सङ्गठनले तपारइहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुनेछ भनी विश्वास लिएको छु ।”