गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यालय आउन छाडे विद्यार्थी

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यालय आउन छाडे विद्यार्थी



कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो ।

वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन् । ‘गर्मीले पढ्नै सकिँदैन’, उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेञ्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेञ्च पनि तातेका हुन्छन् ।’

दिउँसोको समयमा पटकपटक विजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन् । ‘गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ’, उनले भनिन्, ‘पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ ।’

यस्तै कक्षा ५ मा अध्यननरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताइन् । ‘टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ’, उनले भनिन्, ‘अधिकांश साथीहरु बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरु गर्मीमा विद्यालय नियमित आउँदैनन् ।’

विक्रम थारू खडक स्मृति माविमा कक्षा ९ मा पढ्छन् । उनको कक्षामा ९० विद्यार्थी अध्ययनरत छन् । ‘एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ’, उनले भने । शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको थारु बताउँछन् । कक्षा ८ का विद्यार्थी अशुं चौधरीको कक्षामा ११३ विद्यार्थी छन् । एउटै बेञ्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ । उनी भन्छन्, ‘गर्मी सहन नसकेर केही साथीहरु नियमित विद्यालय आउँदैनन् ।’

कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन । दिउँसो बालबालिकालाई गर्मीले सताउँछ ।

केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ । प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन् ।

‘यस्तो बेलामा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ’, अभिभावक रमेश चौधरीले भने । अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन् । टिकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ ।

टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ’, उनले भने ।