ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडकमा उभ्याउनु मानव अधिकारको हनन : सभापति खतिवडा

ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडकमा उभ्याउनु मानव अधिकारको हनन : सभापति खतिवडा



काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा उभ्याउने गृहमन्त्री रवि लामिछानेको निर्णयको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विरोध गरेका छन् ।

गृहमन्त्रीको निर्देशनमा ट्राफिक प्रहरी कार्यालयले बुधबारबाट मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको छ।

बिहीबार समिति सभापति खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् । उनले भने, ‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय गर्ने होइन । यसमा हाम्रो चासो देखिएको छ । यसबारे छलफल गर्नुपर्ने आवश्यकता ठानेका छौं । कार्यकारीलाई काम गर्न रोक्ने हाम्रो नियत होइन । तर कानुनसम्मत काम गर्नुपर्छ भन्ने विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्‌सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए ।