कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सिबी लामा पक्राउ



काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको भेटिएको छ । करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४० करोड रहेको छ ।