माधव नेपाल मेरै सल्लाहमा देउवाकहाँ जानुभएको हो : प्रचण्ड

माधव नेपाल मेरै सल्लाहमा देउवाकहाँ जानुभएको हो : प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार तलमाथि नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै सल्लाहमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका विपक्षी दलको बैठकमा सहभागी भएको दाबी गरे । उनले एकीकृत समाजवादी पार्टी दायाँबायाँ लाग्ने हो कि भन्नेमा कुनै द्विविधा नपाल्न सांसदहरुलाई आग्रह गरे ।

‘सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु पर्दैन । माधवजी उता (विपक्षी गठबन्धन) मा गएको भन्ने कुरा केही होइन । उहाँ मेरै सल्लाहमा जानु भएको हो’, प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘उहाँले जानुअघि मसँग सल्लाह गर्नुभएको थियो । विपक्षी अलाइन्स बनाउन जानु भएको होइन ।’

प्रचण्डले आफू पनि केही दिनअघि देउवालाई भेट्न बूढानीलकण्ठ गएको स्मरण गर्दै भेटघाट गर्दैमा राजनीतिमा केही परक नपार्ने बताए । ‘सरकार केही हुनेछैन । तपाईंहरु ढुक्क हुनुस् । पाँचै वर्ष सरकार जान्छ’, प्रचण्डको भनाइ थियो ।