वीरगन्जमा यौनजन्य हिंसाविरुद्ध प्रहरीकाे ३ दिने सचेतना अभियान

वीरगन्जमा यौनजन्य हिंसाविरुद्ध प्रहरीकाे ३ दिने सचेतना अभियान


ग्लोब नेपाल
0
Shares

रौतहट। मधेश प्रदेशमा बढ्दो यौनजन्य हिंसाका घटनाप्रति समुदायको ध्यानाकर्षण गराउँदै यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले वीरगञ्जमा तीनदिने सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा सुरु गरिएको अभियानको मुख्य उद्देश्य यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउनुका साथै पीडितमैत्री समाज निर्माणमा नागरिकको भूमिका बढाउनु रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जस्थित घण्टाघरबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले अभियानको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज निर्माणका लागि प्रहरी र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए ।

उनले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार तीनदिने अभियान सञ्चालन गरिएको जानकारी दिए ।

यस्ता अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उनले नागरिक समाज, सामाजिक संघसंस्था, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई पनि अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

अभियानअन्तर्गत निकालिएको सचेतनामूलक र्‍यालीले वीरगञ्ज नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । घण्टाघरबाट सुरु भएको र्‍याली नगर परिक्रमा पूरा गरी पुनः घण्टाघरकै प्राङ्गणमा पुगेर समापन भएको थियो ।

तीनदिने अभियानमार्फत यौनजन्य हिंसाका स्वरूप, यसका सामाजिक असर, रोकथामका उपाय तथा पीडितले न्याय प्राप्त गर्ने प्रक्रियाबारे समुदायलाई सचेत बनाउने लक्ष्य राखिएको छ ।

यौनजन्य हिंसा व्यक्तिगत समस्या मात्र नभई सामाजिक चुनौतीसमेत भएकाले यसको अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको सन्देश अभियानले दिएको छ ।