इरानका पूर्वसभामुख लारिजानीद्वारा राष्ट्रपति निर्वाचनका लागि उमेदवारी दर्ता

इरानका पूर्वसभामुख लारिजानीद्वारा राष्ट्रपति निर्वाचनका लागि उमेदवारी दर्ता



तेहरान । इरानी संसद्का पूर्वसभामुख अली लारिजानीले आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार आफ्नो उमेदवारी दर्ता गराएका छन् । इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि चुनाव हुन लागेको हो । यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा रइसीको निधन भएपछि सरेको थियो ।

गृह मन्त्रालयले बिहीबारदेखि जुन २८ मा हुने प्रारम्भिक मतदानका लागि उमेदवारहरूको दर्ता सुरु गरेको छ र राष्ट्रपतिपदका आकांक्षीहरूले सोमबारसम्म आवेदन दिन सक्नेछन् ।

इरानको विदेश नीतिबारे तुलनात्मक रूपमा नरम मानिएका ६६ वर्षीय लारिजानीले शुक्रबार बिहान आफूले निवेदन दिएको सरकारी टेलिभिजनले प्रसारण गरेको फुटेजमा उल्लेख छ । उनले आफू निर्वाचित भएमा अमेरिकी प्रतिबन्धको समस्या समाधान गर्ने र देशको अर्थतन्त्रमा सुधार ल्याउने आफ्नो ‘प्राथमिकता’ रहेको बताए ।

यद्यपि, इरानमा राष्ट्रपति पदका सबै आकांक्षीहरूजस्तै उनको उमेदवारीलाई पनि १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ । सन् २०२१ को चुनावअघि परिषद्ले अयोग्य घोषित गरेका केही सुधारवादी र उदारवादी उमेदवारमध्ये लारिजानी पनि एक छन् । उक्त निर्वाचनमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो ।

लारिजानीले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरमा काम गरिसकेका छन् र तीन दशकभन्दा बढी समयदेखि इरानका विभिन्न महत्त्वपूर्ण पदमा रहेर काम गरिसकेका छन् । उनले सन् २००० को दशकको सुरुमा पश्चिमा मुलुकसँग इरानको आणविक वार्ताको निरीक्षण गरेका थिए तर, इरानका प्रसिद्ध पूर्वराष्ट्रपति महमुद अहमदीनेजादसँग ‘गम्भीर मतभेद’ भएको भन्दै दुई वर्षपछि राजीनामा दिएका थिए ।

तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको आणविक सम्झौतालाई समर्थन गरेका तीनपटक संसद्का सभामुख रहेका लारिजानीले दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् र उनी इस्लामिक गणतन्त्रको लिपिकीय नेतृत्वसँग सम्बन्ध भएका प्रभावशाली परिवारमा जन्मिएका हुन् ।

गत बिहीबार अर्का पूर्वआणविक वार्ताकार कट्टरपन्थी सइद जलिलीले राष्ट्रपतिपदको उमेदवारका रूपमा नाम दर्ता गराएका थिए ।