मुलुक हुकुमी शासनमा होइन कानुन अनुसार चल्नुपर्छ : सांसद रामहरि खतिवडा

मुलुक हुकुमी शासनमा होइन कानुन अनुसार चल्नुपर्छ : सांसद रामहरि खतिवडा



काठमाडौं । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रामहरि खतिवडाले देश हुकुमी शासनमा नचल्ने भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो निर्णय सच्याउन चेतावनी दिनुभएको छ ।

ट्राफिक महिला प्रहरीलाई कानुन बिनै पिरियड बिदा दिने र मापसे गरेका व्यक्तिलाई स्वयंसेवक बनाउने नियम स्वघोषित लागु गरेको भन्दै यस्तो चेतावनी दिनुभएको हो ।

‘यो संविधान हुकुमी शासनमा चल्ने पद्धतिको होइन,’ उहाँले भन्नुभयो, ‘कानुनी राज्यमा देश चल्नुपर्छ भन्ने अवधारणामा हामीले संविधान निर्माण गरेका हौं । गणतन्त्र स्थापना भएको १७ वर्षको अवसरमा मान्य मन्त्रीको एउटा ट्विट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई ४ दिन पिरियडको समयमा बिदा दिने कामको सुरुवात गर्नुभएछ । कानुन बनाएर गर्दा असाध्यै राम्रो । यसलाई हामी स्वागत गर्न चाहान्छौं । र राम्रो कामलाई धन्यवाद पनि दिन चाहान्छौं ।’

उहाँले थप्नुभयो, ‘तर मुलुक हुकुमी शासनमा चल्ने होइन कानुन अनुसार चल्नुपर्छ । कुनै पनि काम गर्दा कानुन निर्माण गरेर चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो । मापसे गरेका मान्छेलाई सडकमा ल्याएर उभ्याउने रे यो कुन कानुन र नियमावलीमा छ ?

आफूहरु यसरी शासन चलाउने पद्धतिको अन्त्य गर्न लडेका मान्छे भएकाले हुकुमी शासनको विरोध गर्ने सांसद खतिवडाले बताउँनुभयो ।