पूर्वप्रधानसेनापति छत्रमानसिंहको आत्मकथा ‘सन अफ दि पिपुल’ सार्वजनिक

पूर्वप्रधानसेनापति छत्रमानसिंहको आत्मकथा ‘सन अफ दि पिपुल’ सार्वजनिक



काठमाडौं । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको आत्मकथा ‘सन अफ दि पिपुल’ प्रकाशित भएको छ । उनको आत्मकथा ‘जनताको छोरो’ को अंग्रेजी संस्करण शुक्रबार काठमाडौंमा एक समारोहका बिच सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनिक समारोहमा पूर्वप्रधानसेनापति गुरुङका सम्धीद्वय व्यवसायी मीनबहादुर गुरुङ र पूर्वउपरथी ओमबहादुर पुनले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

पुस्तक विमोचन गर्दै मीनबहादुर गुरुङले अहिले विश्वका विभिन्न कुनामा नेपालीहरु पनि पुगेको उल्लेख गर्दै उनीहरुलाई नेपालीका बारेमा बुझ्न र बुझाउन सहज होस् भनेर अंग्रेजी संस्करणमा पुस्तक प्रकाशित गरेको बताए । उनले नेपालको बारेमा र नेपालीका बारेमा बुझ्नका लागि यो पुस्तक महत्वपूर्ण भएको बताए ।

समारोहमा स्वागत मन्तव्य राख्दै पूर्वप्रधानसेनापति गुरुङका जेठा छोरा डा. प्रतीक गुरुङले बुवाले आफूलाई नै अनुवादका लागि आग्रह गरेको भए पनि आफूले पुस्तकको अनुवाद चिरन कार्कीलाई गर्न लगाएको उल्लेख गरेका थिए । विदेशमा बस्ने नेपाली तथा विदेशीले पनि बुवाको आत्मकथा पढ्न सहज होस् भन्ने उदेश्यले पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गरेको डा. प्रतीकले बताए ।

पूर्वप्रधानसेनापति गुरुङका कान्छा छोरा प्रवलमानसिंह गुरुङले बुवासँग बाल्यकालमा बिताएका रोचक सम्झनाहरुलाई उल्लेख गर्दै पुस्तकका बारेमा धारणा राखेका थिए । उनले पुस्तक विमोचन समारोहमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।