इरानमा जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि छ जना उम्मेदवार योग्य ठहर

इरानमा जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि छ जना उम्मेदवार योग्य ठहर



तेहरान । इरानले आगामी जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि कन्जरभेटिभ पार्टीका छ जना उम्मेदवारलाई अनुमोदन गरेको छ ।

आगामी जुन २८ मा हुन लागेको निर्वाचनले मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अति परम्परावादी राष्ट्रपति इब्राहिम राइसीको स्थान लिनेछ ।

गृह मन्त्रालयले योग्य ठहर भएको घोषणा गरेका उम्मेदवार राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका ८० जना आकाङ्क्षीमध्येबाट इरानको निर्वाचनसम्बन्धी काम हेर्ने ‘गार्जियन काउन्सिल’बाट उम्मेदवारी अनुमोदन भएका व्यक्ति हुन् ।

उम्मेदवारका आकाङ्क्षीमध्ये सुधारवादी खेमाबाट एक जनालाई मात्र राष्ट्रपतीय निर्वाचनका लागि योग्य ठहर गरिएको छ । निर्वाचनका लागि पूर्व राष्ट्रपति महमुद अहमदीनेजादलाई अनुमोदन गरिएको छैन ।

इरानमा सुधारवादी समूहको मुख्य गठबन्धनले कम्तीमा आफ्नो एक उम्मेदवारलाई प्रतिस्पर्धा गर्न ‘गार्जियन काउन्सिल’बाट स्वीकृति दिइएमा मात्र यस महिनाको राष्ट्रपतीय निर्वाचनमा आफूहरूले भाग लिने बताएको छ ।

सुधारवादी पत्रिका इतेमादले सुधारवादी मोर्चाका प्रवक्ता जवाद इमामलाई उद्धृत गर्दै लेखेको छ, “यदि सुधारवादीहरूले आफ्नो उम्मेदवार छ भने चुनावमा भाग लिन्छन्, अन्यथा, सहभागिताको अपेक्षा गर्नु हुँदैन ।”