सिंहदरबारभित्रबाट काठमाडौं महानगरले गर्‍यो ५ जना बालश्रमिकको उद्धार

सिंहदरबारभित्रबाट काठमाडौं महानगरले गर्‍यो ५ जना बालश्रमिकको उद्धार



काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रबाट पाँच जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो ।

सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको १ जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट १ जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो ।

उनीहरु क्यान्टिनमा काम गर्दै आइरहेका थिए । विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर आज महानगरले सिंहदरबारभित्र क्यान्टिनमा कार्यरत रहेको बालबालिकाको उद्धार गरेको उद्धार टोलीले जनाएको छ ।

उद्धार गरिएका उनीहरुलाई संरक्षण गृहमा लगिएको छ ।

केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको महानगर बुधबार सिंहदरबारभित्र अनुगममा गएको थियो ।

काठमाडौंका विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना प्राप्त भएपछि उनीहरूको उद्धारका लागि महानगरले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बालअधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ ।

अहिले सोही कार्यविधि अनुसार स्वयंसेवक खोजी, पीडित बालबालिका खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको हो ।

यसअघिकाठमाडौं महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा राखेका छन् ।