काठमाडौं । प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त सहकारीका अध्यक्ष तेजविक्रम थापासहित व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भिमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको हो ।
तनहुँ घर भएका तेजविक्रम र सजना श्रीमान्-श्रीमती हुन् । दुई महिनादेखि उनीहरू गोकर्णेश्वरमा लुकेर बसेका थिए ।
२०५८ मा मार्केटिङमा जागिर खान सहकारीमा प्रवेश गरेकी सजना र तेजविक्रम सहितको समूहले ९४ करोड २३ लाख रुपैयाँ रकम अपचलन गरेको प्रहरी अनुसन्धानकाे निष्कर्ष छ ।
सहकारीले बचतकर्ता सदस्यहरुको रकम फिर्ता नगरेको भनि उजुरी परेपछि सहकारी विभागले प्रहरीलाई पत्र पठाएको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्तिहरु फरार रहेकामा जेष्ठ ३१ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
उक्त सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगि गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए । पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन् ।
प्रतिक्रिया