पाँच प्रदेशमा फैलियो मनसुन, बाँकी भू–भागमा फैलिन अझै केही दिन लाग्ने

पाँच प्रदेशमा फैलियो मनसुन, बाँकी भू–भागमा फैलिन अझै केही दिन लाग्ने



काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो ।

कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिँदै आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

महाशाखाले यस वर्षको मनसुन सम्बन्धी दोस्रो बुलेटिन जारी गर्दै नेपालको बाँकी भू–भागमा मनसुन फैलिन अझै केही दिन लाग्ने बताएकाे छ ।

आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।

मनसुन पश्चिमतर्फ सर्दै गएकाले अब गर्मीबाट केही राहत मिल्ने मौसमविदहरुले बताएका छन् ।