शीर्ष नेताहरूलाई संसदमा नदेखेपछि प्रधानमन्त्री असन्तुष्ट

शीर्ष नेताहरूलाई संसदमा नदेखेपछि प्रधानमन्त्री असन्तुष्ट



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुदै गएको र यसले आफैलाई अपमान गर्दै लागेको टिप्पणी गरेका छन् ।

उनले यो परम्परा पछिल्ला दिनहरुमा तोडिदै गएको बताउदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैले आफैलाई अपमान गर्दै गएको हुने बताएका हुन् ।

प्रधानमन्त्री दाहाल रोस्टममा बोल्न जाने बेला बैठकमै देखिएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बोलुन्जेल बैठकमा बसेनन् ।

सत्ताघटक सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री बोलेका बेला बैठकमा थिएनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष अशोक राई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत पनि बैठकमा थिएनन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने बैठकमा थिए ।

प्रधानमन्त्री बोल्ने बेला संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासहित सत्ताघटक दलका शीर्ष नेता पनि उपस्थित हुने परम्परा विगतमा थियो ।