समय अगावै निर्माण सम्पन्न गर्ने व्यवसायी सम्मानित

समय अगावै निर्माण सम्पन्न गर्ने व्यवसायी सम्मानित


ग्लोब नेपाल
351
Shares

खोटाङ । खोटाङमा मध्यपहाडी लोकमार्गमा पर्ने दुईवटा पुल समय अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको भालुखोला र छेपेखोलामा सम्झौताभन्दा एक महिना अगाडि नै पुल निर्माण गर्ने केएम इन्जिनियर्स विल्डर्सका प्रवन्ध निर्देशक मोहन कार्कीलाई सम्मान गरिएको हो ।

जिल्लामा महत्वका आयोजनाको निर्माणमा चरम ढिलासुस्ती भइरहेका बेला समय भन्दा अगाडि नै मध्यपहाडी लोकमार्गको पुल निर्माण गरेकोमा जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीलाई बोलाएर सम्मान गरेको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई लगायतले टोपी र फूलमाला लगाइदिएर सम्मान–पत्र प्रदान गरेका छन् । जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । केएम इन्जिनियर्स विल्डर्सले २०८१ असार २२ गतेसम्ममा सक्नेगरी २०७९ असार २२ गते पुल निर्माण गर्ने सम्झौता गरेको थियो ।

भालुखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सोल्मा र छेपेखोला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पर्छ । आफ्नो क्षेत्रभित्रको पुल सम्झौताभन्दा अगाडि नै बनेको भन्दै नगरपालिकाले निर्माण व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । नगरपालिकाले नगरभित्रका सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीका लागि सिफारिस गर्नेदेखि मेसिनमा ताला हाल्नेसम्मका प्रतिक्रिया जनाउँदैआएको छ ।

ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको नगरपालिकाले समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई भने सम्मान गरेको हो ।