बालेनलाई सुनिताको सुझाव- पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ

बालेनलाई सुनिताको सुझाव- पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई संयमित र मर्यादित भएर आफ्ना अभिव्यक्ति दिन आग्रह गरेकी छन् ।

सोमबार नगर सभामा वडाध्यक्ष र सदस्यहरुले मेयर बालेनको तीव्र आलोचना गरेपछि उपमेयरले सबैलाई संयमित हुन आग्रह गरिन् । उनले मेयर बालेन र आफू दुवैजना राजनीतिमा नयाँ युवा पुस्तालाई मानक बनाउन आएको भन्दै आफूहरुलाई संसारले हेरेको बताइन् ।

उपमेयर डंगोलले फरक मतको कदर गर्नुपर्ने बताइन् । उनले भनिन् ‘फरक मत सबैतिर हुन्छ । फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ । राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं । यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ । प्रमुख ज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु । तपाई म जस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ ।’

उनले मेयरलाई विशेष अनुरोध गर्दै आफूले बोल्ने कुरा संसारको युवालाई प्रभावित पार्ने हुनुपर्ने बताइन् । उनले अभिव्यक्तिलाई मर्यादित र संस्थागत छवि बिगार्न भन्दा पनि पदको मर्यादामा रहेर बोल्न आग्रह गरिन् ।

‘हामीले काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्नु हुँदैन । पदमा बसिसकेपछि पदको मयार्दलाई अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपाइ म र हामी सबैले बनाउनुपर्छ । हामीले आफैले नै उदाहरण बनाउन नसक्ने हो, मनमा जे जे आयो बोल्ने हो भने कपो कल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रूपमा ल्याउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ ।’ उनले भनिन्, ‘त्यसैले हामीले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्छ । सिंहदरबार जलाउनु ठिक हैन भने, काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्तिहरू कदापि राख्नु हुँदैन ।’