चिकित्सा शिक्षा आयोगमा ४ निर्देशक नियुक्त

चिकित्सा शिक्षा आयोगमा ४ निर्देशक नियुक्त



काठमाडौँ । चिकित्सा शिक्षा आयोगमा सोमबार ४ निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसको आधारमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र प्रा.डा. सरला श्रेष्ठलाई निर्देशक नियुक्त गरिएको आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले जनाए ।

आयोगमा मापदण्ड तथा प्रत्यायन, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज निर्देशनालय रहने व्यवस्था छ । खनाललाई नेसनल बोर्ड, मरहट्टालाई योजना, आचार्यलाई मापदण्ड र श्रेष्ठलाई परीक्षा निर्देशनालयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार सिफारिस समितिले गरेको सिफारिसका आधारमा आयोगका उपाध्यक्ष अञ्जनीकुमार झाले निर्देशक नियुक्त गरेका हुन् ।

सर्ट लिस्टमा परेका १२ जनाको प्रस्तुतीकरण, अन्तर्वार्ता लिएर समितिले सिफारिस गरेको हो । समितिले शनिबार चार वर्षे व्यावसायिक कार्ययोजना, सोचपत्रको मूल्याङ्कन गरी नियुक्तिका लागि ४ जनाको नाम सिफारिस गरेको थियो ।