वर्षाले विराटनगरका बस्ती जलमग्न

वर्षाले विराटनगरका बस्ती जलमग्न

लमजुङ पहिरोमा बेपत्तामध्ये एकजनाको शव भेटियो


ग्लोब नेपाल
135
Shares

अत्यधिक वर्षाले विराटनगरका बस्ती जलमग्न बनेका छन्। विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो । १२ नम्बर वडाध्यक्ष हिरालाल कामतका अनुसार अत्यधिक वर्षाका कारण बूढी खोला, केसलिया लगायत खोलामा जल सतह बढेको छ। त्यस्तै वर्षात्को पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको उनले बताए।

वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न भएका छन्। ‘बरगाछीदेखि कञ्चनबारीसम्म जलमग्न हुने अवस्था बनेको छ। पानी पर्न रोकिएको छैन,’ उनले भने। पछिल्लो मोरङको हरैचामा ९५ मिलिलिटर पानी परेको छ।

भारी वर्षा भने झापाको केचना र पोखराको लामापाटन क्षेत्रमा भएको छ। झापाको केचनामा पछिल्लो २४ घन्टामा १५५.६ मिलिमिटिर र लामापाटनमा १५० मिलिमिटर पानी परेको छ। सोलुखुम्बुमा १२० मिलिमिटर पानी परेको छ। सिराहाको ढोढनामा १०४.४ र उदयपुरको सुन्दरपुरमा १०२ मिलिमिटर पानी परेको छ।

लमजुङ पहिरोमा बेपत्तामध्ये एकजनाको शव भेटियो
लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।