कास्की र लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु

कास्की र लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु



कास्की । कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका २ वर्षीय अनमोल सुनार रहेका छन् ।

रानाभाटको बुधबार बिहान सवा २ र सुनारको शव ३ बजे मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ ।

वर्षाका कारण ब्लक र टिनले बनेको तीन कोठे घरपछाडि माटोको ढिस्को खस्दा कोठामा सुतेका दुई जनामध्ये १३ वर्षीया आयुस्मा पहिरोले पुरिएकी थिइन् ।

उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, आरुपाटामा दुई कोठाको कच्ची घर पहिरो आएर भत्किँदा तीन वर्षीय बालक पुरिएका थिए । २७ वर्षीय रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । उनको अवस्था चिन्ताजनक छ । अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ ।

यस्तै, लमजुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेसीसहर नगरपालिका-११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका-३ बगुमका रुद्रमान गुरुङ रहेका छन् ।