कोशी प्रदेशमा लेखा समूहका कर्मचारी हातमा कालोपट्टि बाँधेर काममा फर्किने

कोशी प्रदेशमा लेखा समूहका कर्मचारी हातमा कालोपट्टि बाँधेर काममा फर्किने


ग्लोब नेपाल
621
Shares

विराटनगर । कोशी प्रदेशमा विगत ९ दिनदेखि पेनडाउन गरेर असारमासमा आन्दोलनमा उत्रिएका लेखा समूहका कर्मचारी काममा फर्किने भएका छन् । असार २० गतेसम्म उनीहरुले कार्यालय समयभित्र हातमा कालो पट्टि बाँधेर काममा फर्किने निर्णय गरेर प्रदेश लेखा समूहले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरको सभाहलमा बसेको लेखा समूहको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । असार २० गतेसम्मको अवस्था हेरेर मात्र थप दबाबमूलक कार्यक्रमको घोषणा गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

दबाबमूलक कार्यक्रममा एक्यबद्धता जनाउन राष्ट्रियस्तर, प्रदेशस्तर र जिल्लास्तरमा कार्यरत ट्रेड युनियनहरु, सञ्चारकर्मी, जिल्लास्थित कार्यालयका कर्मचारी तथा सरोकारवालालाई लेखा समूहले धन्यवाद दिएको छ ।

यता, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश निजामति सेवाको लेखा समूहलगायत सबै सेवा समूह र तहमा कार्यरत कर्मचारीहरुले समान वृत्ति विकासको अवसरका लागि गरिरहेको दबाबमूलक कार्यक्रमप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । कर्मचारीको सेवा सुविधा र वृत्ति विकासमा समानता हुनुपर्छ भन्ने विषयमा प्रदेश सरकार स्पष्ट छ ।

प्रदेश सरकारले कर्मचारीको न्यायोचित मागको सम्बोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको परिस्थितिमा दबाबमूलक कार्यक्रममा सहभागी सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुलाई काममा फर्की सार्वजनिक सेवा प्रवाहमा संलग्न हुन अपिल गर्दछु ।’