मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य

मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य



हेटौँडा | मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ । जिल्लाका १६ वटा विद्यालयहरूमा एसईई नतिजा शून्य रहेको छ, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू रहेका छन् ।

विशेष गरी, कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ। यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११ जना मात्र उत्तीर्ण भएका छन् । कालीदेवी माविर र रत्न ज्योती माविमा त एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

जिल्लाका ९ वटा पालिकाका १५ वटा सामुदायिक माध्यमिक विद्यालय र हेटौंडा उपमहानगरपालिकाको एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ । यस्तो परिणामले ग्रामीण क्षेत्रमा संचालित ११ कक्षाको पढाईमा समेत असर पर्ने देखिएको छ ।

समग्रमा, मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५,७५२ परीक्षार्थीमध्ये २,०९८ जना (३६.४७ प्रतिशत) मात्र ११ कक्षा भर्ना हुन योग्य भएका छन् । यो तथ्यांकले जिल्लाको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखाउँछ ।