प्रधानमन्त्री दाहालले कांग्रेस नेता शेखरलाई किन बोलाए बालुवाटार ?

प्रधानमन्त्री दाहालले कांग्रेस नेता शेखरलाई किन बोलाए बालुवाटार ?



काठमाडौं । शुक्रबार राजधानीमा आयोजित एउटा कार्यक्रमा कांग्रेस नेता डा. शेखर कोइरालाले नयाँ समीकरणबाट अहिले नै खुशी हुने अवस्था नरहेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई बालुवाटारमा चिया खाने निम्तो गरे । प्रधानमन्त्रीको निम्तो स्वीकार गरेर डा. कोइराला भोलिपल्ट शनिबार बिहान ८ बजे बालुवाटार छिरेका थिए ।

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार प्रधानमन्त्री दाहाल र कोइरालाबीच झन्डै आधा घण्टाभन्दा बढी समय कुराकानी भयो । नयाँ गठबन्धनबाट एमालेभन्दा कांग्रेसले सरकारको नेतृत्व लिओस् भन्ने प्रधानमन्त्री दाहालको इच्छा रहेकोले त्यहि वरिपरी रहेर विभिन्न कोणबाट समीक्षा भएको थियो ।

प्रधानमन्त्री दाहालले नेता कोइरालासँग तत्काललाई असम्भवजस्तो लाग्ने ३ वटा प्रस्ताव गरेको बुझिएको छ । नेता कोइरालासँग पहिलो प्रस्ताव विश्वासको मत दिएर सहयोग गर्न प्रधानमन्त्री दाहालले आग्रह गरेका थिए भने बहुमत पु¥याउने जिम्मा मेरो भयो, तपाईं प्रधानमन्त्री बन्नका लागि तयार बस्नुहोस् भनेर दोस्रो प्रस्ताव गरेका थिए । यी दुवै सम्भव नभए धारा ७६(३) अनुसार नयाँ सरकार बन्ने वातावरण मिलाउन प्रधानमन्त्री दाहालले नेता कोइरालासँग आग्रह गरेको थिए ।

पहिलो र दोस्रो प्रस्तावका लागि समय घर्किसकेको र तेस्रो प्रस्तावका लागि लविङ गर्न सकिने जवाफ प्रधानमन्त्री दाहाललाई कोइरालाले दिएको बुझिएको छ । बालुवाटारबाट निस्केपछि नेता कोइरालाको अभिव्यक्ति पनि प्रधानमन्त्री दाहालको चाहनालाई पृष्ठपोषण गर्ने खालको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु भयो भने नयाँ सरकार गठन संविधानको धारा ७६ (३) अन्तर्गत नजाओस् भन्ने आफ्नो चाहना रहेको कोइरालाले बताएका छन् ।

राजनीतिक विश्लेषकका अनुसार कोशी प्रदेशमा भएको राजनीतिक अभ्यास केन्द्रमा पनि गराउन सकिन्छ कि भन्ने प्रयासमा प्रधानमन्त्री दाहाल लागेका छन् । गठबन्धनप्रति असन्तुष्ट रहेका केही कांग्रेस र एमालेका नेतालाई गोप्यरुपमा बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले छलफल गरिरहेका छन् । संसदमा रहेको संख्याको आधारमा प्रधानमन्त्री दाहालको चलखेल गर्ने ठाउँ लगभग बन्द भइसकेकाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न रोक्ने एकसूत्रीय अभियानमा लागेका छन् ।

आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटालाई अब बन्ने सरकार संविधानको धारा ७६ (३) अन्तर्गत सरकार बन्ने छ भनेर बोल्न लगाइसकेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सापकोटाले संविधानमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर नलेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्था अनुसार नै आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए ।

उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने संविधानमा स्पष्ट व्यवस्था गरिएको बताएका छन् । तर, सर्वोच्च अदालतले स्थापित गरेको नजिर हेर्दा धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान हुनु संवैधानिक हुने काननका जानकारहरु बताउँछन् ।

कोशीका एमाले सांसद हिक्मत कार्कीले तत्कालीन मुख्यमन्त्री उद्धव थापाविरूद्ध सर्वोच्चमा दिएको रिटमा सर्वोच्चले दिएको आदेशको नजिरले जुन धारामा टेकेर बनेको सरकारले विश्वास मत प्राप्त गर्न सकेन भने पनि सोही धारामा टेकेर नयाँ सरकार बन्न सक्छ । सर्वोच्चले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने विकल्प रहेसम्म सोही विकल्प अपनाउनु पर्ने व्याख्यासमेत गरेको छ ।

सर्वोच्चल अदालतको आदेशको नजिर हेर्दा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । उता, कांग्रेस र एमालेले पनि सहमतिमा हस्ताक्षर गर्नुअघि राष्ट्रपतिलाई भेटेर संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिदिन आग्रह गरिसकेका छन् ।

असार २८ गते शुक्रबार विश्वासको मत प्राप्त नभएपछि प्रधानमन्त्री पद खाली हुनेछ । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनका ज्ञातासँग छलफल गरेर मात्रै संविधानको धारा तोकेर नयाँ प्रधानमन्त्री पदका लागि दलहरुसँग आह्वान गर्ने छन् ।