काठमाडौँ । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै प्रहरीले खोजी गरिरहेको छ ।
दुई वटा बसमा चालकसहित ६५ जना यात्रु रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार काठमाडौँबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु रहेको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजीको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए । बेपत्ता बस र यात्रुको खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोरसमेत परिचालन गरिएको छ ।
गणपति डिलक्सको बसबाट हाम फालेर ज्यान बचाएका ३ यात्रु सम्पर्कमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रतिक्रिया