अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि शनिवार साँझ गोली प्रहार भएको छ । पेन्सिलभेनियाको बटलर भन्ने ठाउंमा भैरहेको चुनावी सभालाई सम्बोधन गर्दै गरेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
ट्रम्पको दाहिने कानको कन्चटमा गोली लागेपछि उनी घटनास्थलमै लडेको प्राप्त भिडियोमा देखिन्छ । रगताम्य भएर लडेका ट्रम्पलाई गुप्तचर सेवाका सुरक्षाकर्मीहरुले घेरा हाली घटनास्थलबाट उपचारका लागि लिएर गएका थिए । गोली प्रहारपछि सुरक्षाकर्मीहरुका बीचबाट पनि ट्रम्पले आफ्ना समर्थकहरुलाई हात हल्लाईरहेको देखिन्थ्यो । उनको अवस्था खतरामुक्त रहेको सुरक्षाकर्मीहरुको भनाई रहेको छ ।
यसैबीच घटनास्थलमा गोली प्रहार गर्ने संदिग्ध एक जना र अर्को शंकास्पद एक जना गरी कम्तीमा पनि दुई जना मारिएको सीएनएनले सुरक्षाश्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
पूर्व राष्ट्रपति ट्रम्पको हत्या प्रयाससहित भएको यो गोली प्रहारको घटनाको अमेरिकी राष्ट्रपति जो बाइडेन,उप राष्ट्रपति कमला ह्यारिस, पूर्व राष्ट्रपतिहरु बाराक ओबामा,बिल क्लिन्टनलगायतका नेताहरुले अमेरिकामा हिंसाको कुनै स्थान नभएको भन्दै निन्दा गरेका छन् ।
हत्या प्रयासको यो घटनालाई विभिन्न राष्ट्रका सरकार प्रमूख र राष्ट्र प्रमूखहरुले पनि निन्दा गरेका छन् ।

प्रतिक्रिया